FAQs Complain Problems

गाउँपालिका अध्यक्षको भनाई

अध्यक्षज्यूको भनाई अध्यक्षज्यूको फोटो
गाउँपालिका अध्यक्ष असिम राई ज्यूको तर्फबाट

 

कैयौँ राजनैतिक आन्दोलन र दशबर्षे जनयुद्धको जगबाट स्थापित संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको बहुप्रतिक्षित संविधान जारी भएसँगै नेपाली राजनैतिक स्थिरताको युग शुरु भएको छ । वि.सं. २००४ सालदेखिको राजनैतिक अस्थिरता, अन्योलता र दिशाहिनताको दुरावस्थालाई चिर्दै पटक पटकको अथक प्रयास पछि नेपालको संविधान २०७२ जारी भएसँगै नेपालमा संघियता कार्यान्वयनको मुल ढोका खुलेको हो । विभिन्‍न कालखण्डमा हजारौँ वीर शहिदहरुको बलिदानीबाट प्राप्‍त गणतन्त्र, संघियता र धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धिहरुको रक्षा र कार्यान्वयनले अहिले गति लिएको आभास आम नागरिकसामु पुग्‍न सफल भएको छ ।

उल्लासपूर्ण वातावरणमा अधिक नागरिक सहभागिताका साथ स्थानीय तहको निर्वाचन २०७४ सफलता पुर्वक सम्पन्‍न हुनु र मुलुकमा तीन तहको सरकार गठनको काम सम्पन्‍नताले पनि संघियताप्रति नेपाली जनताको ब्यग्रता, दृढता, समर्पण र भरोसालाई उजागर गरेको कुरामा दुईमत छैन । हामीलाई विश्वासको मत प्रदान गरेर स्थानीय सरकारको नेतृत्वको जिम्मा दिएर ऐतिहासिक र महत्वपूर्ण राजनैतिक, सामाजिक अभिभारा पुरा गर्ने जिम्मेवारी दिनुभएकोमा म यस गाउँपालिकाका सबै मतदाता र आम नागरिकमा आभार प्रकट गर्दै तपाईको विश्वासको मतलाई यस पालिकाको विकास र सम्बृद्धिमा अहोरात्र प्रयोग गर्ने र नमुना गाउँपालिका बनाउने दृढ संकल्प प्रस्तुत गर्दछु ।

भौतिक र मानवीय विकासलाई समानान्तर रुपमा आगडी बढाउँदै नागरिकको घरदैलोको सरकारको अनुभुति गराउने जिम्मेवारी हाम्रो काँधमा छ । शासक नभइ पालिकाबासिको सेवकको रुपमा अनवरत क्रियाशिल रहि प्रदेश तथा केन्द्र सरकार र निजि क्षेत्रको समेत साझेदारीमा थुलुङदुधकोशी गाउँपालिकालाई सबै दृष्टिकोणले नमुना बनाउने प्रण गर्दछु । वृहत्तर विकासका लागि हातेमालो को अवधारणा बनाएर नै कामहरु अगाडी बढाईएको छ । विकास निर्माण र सेवा प्रवाह दुवैमा नागरिक अधिकारको प्रत्याभुति दिलाउने काम हाम्रो हुनेछ । आम मतादालाई पछुतो होईन गर्व गर्न लायकको ब्यवहारिक वातावरण बनाउन केही महत्वपूर्ण गौरवका आयोजनाहरु अगाडी सारेको छु । नमुना एकिकृत बस्ति, अर्गानिक भिलेजको घोषणा, ईको भिलेजको रुपमा गाउँपालिकालाई विकसित गरि नेपालकै पहिलो वातावरणमैत्री गाउँपालिका निर्माण गर्ने, प्राविधिमा आधारित गाउँपालिकाको रुपमा विकशित गरि ई-गभरनेन्स लागु गर्ने र बृहत्तर ओगानेम विकास परियोजना सञ्‍चालन गर्ने गरि विस्तृत परियोजना प्रतिवेदन बनाउने काम अगाडी बढाईएको छ ।

अन्त्यमा, राजनैतिक आस्था भन्दा माथि रहेर सहभागितात्मक विकासको मुल मन्त्रलाई आत्मासाथ गर्दै सदाचारयुक्त, समुन्‍नत र समतामुलक समाज निर्माणको महान कार्यमा हाम्रा पाईला लम्किरहनेछन् । भौतिक, सामाजिक तथा आर्थिक विकासको माध्यमले रोजगारी सृजना गरि आत्मनिर्भर गाउँपालिका बनाउने काममा यहाँहरुको निरन्तर साथ, सहयोग, सहभागिता एवं सल्लाह र सुझावको अपेक्षा गरेको छु ।

धन्यबाद ।